Vaccine प्रश्नोत्तर (Q&A) नेपालीमा


१. Vaccine किन लगाउने?

• व्यक्तिगत लाभ- हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति अर्थात immunity power विभिन्न अङ्ग, कोषिका, रसायन आदिमा भर पर्छ। सहज भाषामा भन्नुपर्दा, हाम्रो शरीरलाई रोगबाट बचाउने आर्मी हाम्रो रगतमा हुन्छ। भ्याक्सिनमा कीटाणु स्वयं नभएर त्यसको प्रतिलिपि अथवा dummy जस्तै केही हुन्छ भनेर बुझौं। जब vaccine लगाइन्छ तब हाम्रो शरीरको आर्मीले कहिल्यै नदेखेको कुनै विशेष रोगको कीटाणुलाई पहिलोपटक देख्छ। देखेपछि त्यस रोगको निवारणका लागि आफूलाई ट्रेन गर्छ र बिस्तारै त्यो कीटाणुलाई मार्ने शक्ति विकाश गर्छ। अब भने त्यस रोगको साँच्चैको जीवाणु सँग कुनैदिन हाम्रो जम्का भेट भए हाम्रो शरीरको आर्मीले सहजै चिनेर अझ द्रुत गतिमा रोग निको पार्न सक्छ। 

• सामाजिक लाभ- यदि कुनै समाजमा ७०-८०% जति जनसंख्याले भ्याक्सिन लगाएमा बाँकी रहेका कारणवश भ्याक्सिन लगाउन नपाउने अथवा लगाउन नहुनेहरुले पनि रोग बाट सुरक्षा पाउँछन्।  यसलाई मेडिकल भाषामा हर्ड इम्युनिटी (herd immunity) भनिन्छ। जब देशभरी भ्याक्सिन लगाउनेको प्रतिशत त्यति पुग्छ अनि मात्र हामी पहिलेजस्तै हिँडडुल गर्न सक्छौं सामान्य दिनचर्या सुरु गर्न सक्छौं। यो प्रवृत्तिलाई विश्व मानचित्रमा राखेर हेरौं। हरेक देशमा भ्याक्सिन लगाउनेको संख्या ७०-८०% पुगेमा विश्वभरि खुलेआम हिँड्न सकिनेछ, महामारीको अन्त्य हुन्छ। त्यसैले भ्याक्सिन पहुँचमा भएका सबैले नहिचकीचाई लगाउने हो भने यो महामारीको अन्त्य छिटै देख्न पाइनेछ। आफू बाचौं र अरूलाई  बचाऔं भन्ने सिद्धान्त लागू हुन्छ यसमा। व्यक्तिगत र सामाजिक दुवै हिसाबले लाभ हुनेहुँदा आफ्नो सामाजिक दायित्व पूरा गर्नका लागि भएपनि भ्याक्सिन अनिवार्य नै छ भन्न सकिन्छ। 


२. के Vaccine लगाए मलाई कहिल्यै COVID नलाग्ने हो र?

• भ्याक्सिन लगाउँदैमा COVID बाट पूर्ण रूपले सुरक्षित भइन्छ भन्ने सोचाई गलत हो। माथि भनेजस्तै आफूले मात्र भ्याक्सिन लगाएर यो महामारी जित्न सकिँदैन, भ्याक्सिन लगाउनेको संख्या ७०-८०% पुर्याउनका निम्ति आफूले भ्याक्सिन लगाएर सामाजिक दायित्व पूरा गरेपछि हामीले अरूलाई पर्खनुपर्छ। सबैजना आ- आफ्नो दायित्व पूरा गर्ने दौडधुपमा सामेल हुँदै गर्दासम्म मास्क लगाउने, हात धुने, सामाजिक दूरी कायम गर्ने, भिडभाडमा नजाने, आदिजस्ता सुरक्षाहरू अनिवार्य रूपमा अपनाउनु पर्ने हुन्छ। 

• त्यसोभए अहिले भ्याक्सिन लगाएर रोग विशेष फाइदा के छ त भन्ने प्रश्न आउला। भ्याक्सिन लगाएमा रोग नलाग्ने भन्दापनि रोग लागिहाले के हुन्छ भन्ने कुरा महत्वपूर्ण छ। रोग लागीहालेमा रोगको कीटाणु चिनिसकेको हाम्रो शरीरको आर्मीले द्रुत गतिमा रोग निको पार्ने वातावरण सृजना गर्छ जसले गर्दा रोगको जटिलता कम हुन्छ, निको हुन छोटो समय लाग्छ, मृत्युदर घट्छ। 


३. Vaccine कै कारणले COVID लाग्न सक्ने सम्भावना चाहिँ छ कि छैन?

• भ्याक्सिनमा कोरोना भाइरसको जेनेटिक कोड (genetic code) काे अंश मात्र हुन्छ। सहज रुपमा बुझ्नका लागि माथि भनेजस्तै भ्याक्सिनमा कीटाणु स्वयं नभएर कीटाणुकाे प्रतिलिपि अथवा dummy जस्तै फर्मुला हुन्छ भन्ने सोच्न सकिन्छ। हाम्राे शरीरको आर्मीलाई ट्रेनिङ्ग दिनका निम्ति प्रयोग हुने खेलौना हो भन्दा पनि केही फरक पर्दैन। त्यसैले भ्याक्सिनको कारणले COVID हुन्छ भन्ने सोच्नु भ्रमपूर्ण छ।


४. Vaccine को नकारात्मक असरका बारेमा धेरै चर्चा सुनियो। भ्याक्सिन साँच्चै सुरक्षित छ त?

• विभिन्न भ्याक्सिनका फरक फरक किसिमका नकारात्मक असर छन्। सबै मानिसको शरीर एउटै हुँदैन। ज्वरो, शरीर दुखाई, थकान, कमजोरी, आदिजस्ता सामान्य असरहरू कसैलाई देखापर्छ भने कसैलाई केही हुँदैन। एकदमै जटिल असर हुन सक्ने संभावना न्यून हुन्छ। अहिलेसम्म हेर्दा भ्याक्सिनको adverse effect ले भन्दा रोगले पुर्याउने क्षति गम्भीर र धेरै मात्रामा रहेको पाइएको छ। प्रयोग गर्नका लागि स्वीकृति पाएका भ्याक्सिनहरु टेस्ट र रिसर्च गरेरै आएका हुन्। लामो समयमा यसका अन्य जटिलता आउन सक्ला नसक्ला त्यो अहिले भन्न सकिँदैन तर हालसम्म विश्वब्यापी रूपमा भ्याक्सिन प्रयोग भइरहेको अवस्थामा भ्याक्सिन सुरक्षित छ र लगाउँदाकाे फाइदा धेरै छ भन्ने कुरा सहजै भन्न सकिन्छ। 


५. COVID लागेर निको भएकाहरूले भ्याक्सिन लगाउनु पर्दैन र?

•  सेन्टर्स फर डिजिज कन्ट्रोल एंड प्रिभेन्सन (CDC) गाइडलाइन अनुसार COVID लागेर निको भएका, COVID कहिल्यै नलागेका सम्पूर्णले भ्याक्सिन लगाउनु आवश्यक छ। COVID लागेका त्यस्ता बिरामी जस्लाई प्लासमा थेरापी (plasma therapy) अथवा मोनाक्लोनल एन्टीबडी (monoclonal antibodies) दिइयो, उहाँहरूले ९० दिन जति पर्खनुपर्छ भ्याक्सिन लिनका लागि योग्य हुन। COVID लागिरहेको अवस्थामा अथवा लागेको संका भएमा निको नभएसम्म भ्याक्सिन नलिने सुझाव छ।


६. मैले vaccine नलगाए के हुन्छ?

• व्यक्तिगत रूपमा भ्याक्सिनले दिने फाइदाबाट त वञ्चित भइन्छ नै, आफूले गर्दा आफ्नो घरपरिवार र समाज पनि असुरक्षित हुन्छ। जति धेरै मान्छेलाई भाइरसले असर गर्ने मौका पाउँछ, त्यतिनै त्यसको म्युटेसन (mutation) हुने सम्भावना वृद्धि हुन्छ। जसकारण भाइरस धेरैलाई सर्ने जोखिम बढ्छ, भ्याक्सिनको प्रभावकारिता घट्ने संभावना हुन्छ, भ्याक्सिनेशन दर ७०-८०% पुर्याउने हाम्रो लक्ष्यमा बाधा आउँछ, र अन्ततः यो महामारी नियन्त्रण गर्न अत्यन्तै कठिन हुन जान्छ। 

Comments

  1. It's a really informative article. Loved it. Great job, Asmita. Keep it up.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Of LIfe!

MBBS in Bangladesh- Criteria and Process